३० असार, काठमाडौं ।
काठमाडौंको नारायणहिटी परिसरमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका सयौं सेवाग्राही सर्भर डाउनका कारण अलपत्र परेका छन्। सर्भर काम नगरेपछि प्रहरीले गेटमै सेवाग्राहीलाई प्रवेशमा रोक लगाएको छ।
नयाँ परिचयपत्र बनाउन लामो लाइन बसेका सेवाग्राहीहरूले सर्भर नचलेको जानकारी अन्तिम समयमा मात्रै पाएको भन्दै गुनासो व्यक्त गरेका छन्।
“बिहानैदेखि लाइनमा बसेका थियौं, भित्र पसेपछि बल्ल सर्भर डाउन भनेर फर्काइयो,” एक सेवाग्राहीले बताए।
सर्भर कहिले सञ्चालनमा आउँछ भन्ने विषयमा भने निश्चित जानकारी नदिइएको नारायणहिटीस्थित कार्यालयका एक कर्मचारीले बताएका छन्। उनले भने, “सर्भर कहिले ठीक हुन्छ भनेर अहिल्यै भन्न सकिँदैन।”
यसैबीच, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सर्भर पनि गए रातिदेखि डाउन भएको छ। त्रिविका सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय, तथा अन्य वेबसाइटहरू समेत बन्द भएका छन्, जसका कारण विभिन्न शैक्षिक तथा प्रशासनिक कामकाज अवरुद्ध भएका छन्।